Rule 56
श्रम अडिट गर्नु पर्ने
(१) प्रतिष्ठानले ऐन र यस नियमावली बमोजिम काम कारबाही भए नभएको सम्बन्धमा प्रत्येक वर्षको पौष मसान्तभित्र आफ्नो प्रतिष्ठानको सम्बन्धमा मन्त्रालयले तोकेको मापदण्ड बमोजिम प्रतिष्ठानको आफ्नै व्यवस्थापकीय तहको श्रमिक वा श्रम क्षेत्रसँग सम्बद्ध अन्य कुनै व्यक्ति वा संस्था मार्फत श्रम अडिट गराउन सक्नेछ।
(२) प्रतिष्ठानले उपनियम (१) बमोजिम गरेको श्रम अडिटको प्रतिवेदन अनुसूची-१० बमोजिमको ढाँचामा राख्नु पर्नेछ।त्यस्तो प्रतिवेदन ऐनको दफा ९८ बमोजिम प्रतिष्ठानको निरीक्षण गर्ने निरीक्षकलार्इ उपलब्ध गराउनु पर्नेछ।
(३) श्रम अडिट गर्ने व्यक्तिले अडिट प्रतिवेदनमा गलत विवरण उल्लेख भएको पाइएमा  श्रम कार्यालयले त्यस्तो गलत विवरण दिने व्यक्ति र प्रतिष्ठानको व्यवस्थापकलाई पटकै पिच्छे ऐनको दफा १६३ को उपदफा (२) को खण्ड (ख) बमोजिम जरिबाना गर्न सक्नेछ।
(४) प्रतिष्ठानले ऐन तथा यस नियमावली बमोजिम गरेको श्रम अडिट प्रतिवेदनको प्रति श्रम सम्बन्ध समिति र प्रतिष्ठानसँग सम्बन्धित देहाय बमोजिमको नियामक निकायलाई समेत दिनु पर्नेछः-
(क) बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा,
(ख) बीमा कम्पनीले बीमा समितिमा,
(ग) गैर सरकारी संस्थाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा,
(घ) अन्य प्रतिष्ठानले आफूलार्इ स्थापना वा सञ्चालन अनुमति प्रदान गर्ने निकायमा।